खार्किभमा भएको बमबारी युद्ध अपराधः राष्ट्रपति जेलेन्स्की

२०७८ फाल्गुण १७ मंगलबार १७:०७:०० मा प्रकाशित

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा दर्जनौँ मानिसको ज्यान जानेगरी गरिएका बमबारीलाई युक्रेनका राष्ट्रपतिले युद्ध अपराध भनेका छन् । सोमबार रुसले गरेको सन्दिग्ध क्लस्टर बम आक्रमणमा परी तीन बालबालिकासहित नौ गैरसैनिकको ज्यान गएको थियो ।

खार्किभको केन्द्रमा भएको पछिल्लो क्षेप्यास्त्र हमलाभन्दा अगाडि टिप्पणी गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गैरसैनिकहरूलाई जानाजान निसानामा पारिएको प्रत्यक्षदर्शीहरूले बताएको जनाएका थिए ।

यसैबीच अन्तर्राष्ट्रिय फौजदारी अदालतका मुख्य अभियोजनकर्ता करिम खानले रुसी अतिक्रमणबारे अनुसन्धान थालेका छन् । यसअघि उनले रुसले युक्रेनमा युद्ध अपराध वा मानवताविरुद्ध अपराध गरेको ठहर्ने ‘यथोचित आधार’ रहेको आफूलाई विश्वास भएको बताएका थिए ।

युक्रेनको विदेश मन्त्रालयले खार्किभको फ्रीडम स्क्वाएरमा भएको एउटा विस्फोटनको भिडियो ट्विटरमा प्रेषित गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको आरोप लगाएको छ । उनले रुसलाई बाँकी विश्वबाट अलग्याउन आग्रह गरेका छन् ।

ताजा खबर