राष्ट्रसंघको मानवअधिकार परिषदमा युक्रेनलाई नेपालको समर्थन

२०७८ फाल्गुण १७ मंगलबार १२:३७:०० मा प्रकाशित

काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा नेपालले युक्रेनलाई साथ दिएको छ । स्वीट्जरल्याण्डको जेनेभास्थित परिषद्को कार्यालयमा सोमबार भएको मतदानमा नेपालले युक्रेनको समर्थन गरेको हो ।

परिषदले ‘रुसले आक्रमण गरेपछि युक्रेनमा मानवअधिकारको अवस्था’ प्रस्तावमा छलफल गर्न आपतकालिन बैठक बोलाएको थियो । बैठकमा उक्त विषयमा छलफल गराउने वा नगराउने भन्ने विषयमा मतदान भएको थियो ।

मतदानमा परिषद्का ४७ सदस्य राष्ट्रमध्ये प्रस्तावको पक्षका २९, विपक्षमा ५ र तटस्थ १३ राष्ट्र बसेका थिए । नेपालका दुई ठूला शक्तिशाली छिमेकी भारत तटस्थ र चीन विपक्षका उभिएका बेला नेपालले युक्रेनको पक्षमा खुलेर मतदान गरेको हो ।

प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेपछि अब राष्ट्रसंघको मानवअधिकार परिषदमा रुसी आक्रमणको सम्बन्धमा बहस हुनेछ । रुसले युक्रेनमाथि गरेको आक्रमणको यसअघि नै विज्ञप्ति जारी गर्दै नेपालले विरोध जनाइसकेको छ । नेपालले रुसलाई राष्ट्रसंघको बडापत्रको पालना गर्न समेत आग्रह गरेको छ ।
 

ताजा खबर