कक्षाकोठामा स्मार्ट टिभी, शिक्षकको हातमा ल्यापटप

२०७८ फाल्गुण १७ मंगलबार ०९:५८:०० मा प्रकाशित

गलकोट । पछिल्लो समय ग्रामीण क्षेत्रका विद्यालयसमेत प्रविधिमैत्री हुन थालेका छन् । खरीपाटीमा अध्यापन गराउने शिक्षक ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टिभीमा अध्यापन गराउने भइसकेका छन् । खरीपाटीबाट, चक र चकपछि मार्करले ह्वाइटबोर्डमा लेखेर अध्यापन गराउने विद्यालयका शिक्षक स्मार्ट तरिकाले अध्यापन गराउन थालेका हुन् ।

जिल्लाको बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङका विद्यार्थीलाई विद्यालयले डिजिटल माध्यमबाट अध्यापन गराउन थालेको छ । विद्यालको सबै कक्षा कोठामा स्मार्ट टिभी जडान गरिएको छ भने शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ । कक्षा ६ देखि १२ सम्मका सातवटा कक्षाकोठामा ४३ इन्चको स्मार्ट टिभी जडान गरिएको छ ।

शिक्षकले ल्यापटपमा भएको पाठ्यसामग्री स्मार्ट टेलिभिजनमा देखाउन सक्नेगरी प्रविधिको विकास गरिएको र विद्युत् नभएको अवस्थामा समेत डिजिटल माध्यमबाट अध्यापन गराउन सक्ने सिगाना मावि तित्याङले जनाएको छ । अहिले ल्यापटपबाट विद्यार्थीलाई अध्यापन गराउने विषयमा शिक्षकले तालिम लिइराखेको विद्यालयका प्राचार्य गोपालकुमार शर्माले जानकारी दिए ।

विद्यालयले १६ लाख २६ हजार खर्चेर शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाएको हो । शर्माका अनुसार ६ देखि १२ सम्मका सबै कक्षा कोठामा स्मार्ट टिभी र १२ शिक्षकका लागि ल्यापटप वितरण गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु छ लाख ५० हजार, बागलुङ नगरपालिका–८ र ९ को चार लाख, शिक्षकबाट सङ्कलन गरिएको ४९२ हजारबाट स्मार्ट टिभी र ल्यापटप खरिद गरिएको हो ।

तीन लाख ५० हजारमा वैकल्पिक ऊर्जाको समेत व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ । ८० हजारको ल्यापटपका लागि शिक्षकले ४० हजार आफ्नो तर्फबाट खर्च गरेको विद्यालयले जनाएको छ । विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने भन्दा गुणस्तर बढाउनेतर्फ ध्यान गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

“विद्यालयमा हाल ३२० विद्यार्थी छन्, यो विद्यार्थीको सङ्ख्या हाम्रोमा घट्दो हो, बसाइँसराइका कारण विद्यार्थी सङ्ख्या क्रमशः घट्दै छ तर हामीले शैक्षिक गुणस्तर भने बढाउँदै लगेका छौँ”, अध्यक्ष खड्काले भने ।

प्राथमिक तहमा समेत डिजिटल माध्यामबाट अध्यापन गराउनका लागि गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चार लाख बजेट विनियोजन गरेको छ । यस्तै विद्यालयमा प्रविधिको माध्यामबाट अध्यापन गराउनका लागि एसएलसी व्याच २०५२ द्वारा दुई लाख २६ हजारसमेत सहयोग भएको थियो ।

डिजिटल माध्यमबाट अध्यापन गराउँदा विद्यार्थीमा सिकाइ उपलब्धि बढेर जाने र विद्यार्थीसमेत प्रविधिमा निपूर्ण हुने विद्यालयको भनाइ छ । विद्यार्थीले अध्ययनका अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयकै जग्गामा केराखेतीसमेत गर्दै आएका छन् । जिल्लाको निसीखोला गाउँपालिकाको प्रभा मावि, काठेखोला गाउँपालिकाको रेश नुन्थला माविमा समेत एक शिक्षक एक ल्यापटप कार्यक्रम सञ्चालित छ ।

ताजा खबर