एमसीसीसम्बन्धी भ्रम र अन्योल समाप्त भएका छन् : प्रवक्ता महत

२०७८ फाल्गुण १६ सोमबार १७:२१:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएसँगै यससम्बन्धी भ्रम र अन्योल समाप्त भएका बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले सत्तागठबन्धनमा रहेका दलहरुको सहमतिमा सरकारले ल्याएको व्याख्यात्मक घोषणाले एमसीसी सम्बन्धमा विभिन्न क्षेत्रबाट उठाइएका भ्रम र सन्देहलाई चिर्न ठूलो मद्दत पुगेको बताएका हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकले एमसीसीसम्बन्धी प्रस्ताव व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन गरेको हो । भ्रम र अफवाहलाई चिर्दै नेपाली जनतालाई यथार्थ बुझाउने काममा कांग्रेस निरन्तर लागिरहने उल्लेख गर्दै प्रवक्ता डा महतले भने, “अब एमसिसी अनुदान सहयोग अन्तर्गतका परियोजना कार्यान्वयनमा जाने सुनिश्चित भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निरन्तरको प्रयास, धैर्यता, लचकता, सुझबुझ पूर्ण सोच र निर्णयका कारण एमसिसी अनुमोदनमा सबैको सहयोग जुटाउन सहज भएको हो ।”

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) प्राविधिक कारणले अनुमोदनको प्रक्रियामा संलग्न नभए पनि एसीससीका पक्षमा नै रहेको महतको भनाइ थियो ।

नेपालको विद्युत् प्रसारणलाइन र सडक स्तरोन्नतिका लागि एमसिसीमार्फत करिब ६० अर्ब अनुदान सहयोग प्राप्त हुनेछ । एमसीसीसम्बन्धी प्रस्तावका पक्षमा सरकारमा सम्मिलित दलहरु एक ठाउँमा उभिएपछि आइतबारको संसद्बाट सम्झौता अनुमोदन गर्न सहज भएको भन्दै प्रवक्ता डा महतले सबै दलका नेतृत्वको सराहना गरे ।

ताजा खबर