एमसीसीमा फेरि राजनीति गर्नु भनेको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु होः विवेकशील साझा

२०७८ फाल्गुण १६ सोमबार १२:३४:०० मा प्रकाशित

काठमाडौं । विवेकशील साझा पार्टीले एमसीसी सम्झौतामाथि थप राजनीति गर्न नहुने बताएको छ । सोमवार विज्ञप्ति जारी गरी साझा पार्टीले थप राजनीति गर्नु भनेको संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु भएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विगतमा बारम्बार जसरी राष्ट्र हितलाई मध्यनजर राखेर होइन, निहित राजनीतिक स्वार्थहरूका कारण कयौँ गम्भीर निर्णयहरू लिइएका छन्, त्यसैगरी, एमसीसी पनि निहित राजनीतिक स्वार्थहरूका कारण नै पारित भएको छ, संसद्मा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय हो । अबका दिनहरूमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु हो, त्यस्तो काम अब कसैबाट पनि हुनु हुँदैन ।’

विवेकशील साझाले कुनै संवैधानिक तथा कानूनी हैसियत नहुने व्याख्यात्मक टिप्पणीको लेपन लगाएर एमसीसी अनुमोदन गरिएबाट नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रस्ट भएको जनाएको छ ।

उसले भनेको छ, ‘सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैरजिम्मेवारीपूर्ण शैली एवम् संवेदनशील समयमा प्रदर्शित उत्ताउलो रवैयाका कारण चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु हाम्रोजस्तो मुलुकका लागि शुभ संकेत होइन । एमसीसी सम्झौतामाथि हालैका वर्षमा जे जति बहस र राजनीति भए, त्यसले भविष्यमा विदेशी ऋण अनुदान लिनु र सन्धि सम्झौता हुनु पूर्व गरिनु पर्ने गृहकार्य र देखाउनु पर्ने सुझबुझलाई निर्देशित गर्न सक्यो भने त्यो देशका लागि फलदायी हुनेछ ।’

 

ताजा खबर