रुसलाई स्वीफ्ट बैंकिङ प्रणालीबाट अलग गरिने

२०७८ फाल्गुण १५ आइतबार १०:३१:०० मा प्रकाशित

अमेरिका, क्यानडा र ब्रिटेनसमेत आबद्ध पश्चिमा देशहरूको गठबन्धनले रुसी बैंकहरूलाई स्वीफ्ट नामक अन्तर बैंकिङ कारोबार प्रणालीबाट अलग गर्ने निर्णय गरेका छन् ।

रुसविरुद्ध कडा कदमहरू चालिएको घोषणा गर्दै युरोपेली आयोगकी प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी गर्ने क्षमतामाथि प्रहार गर्नु भएको बताइन् ।

उनले रुसी बैंकहरूलाई स्वीफ्टबाट अलग गर्दा उनीहरूका अन्तर्राष्ट्रिय आर्थिक कारोबार वञ्चित हुने र रुसको आयातनिर्यात अवरुद्ध हुने उल्लेख गरिन् । यस्तै रुसी केन्द्रीय बैंकलाई अन्तर्राष्ट्रिय कोषको परिचालनमा बन्देज पनि लगाइने भएको छ ।

यसैबीच, युक्रेनको राजधानीका बासिन्दाहरूले भूमिगत आश्रय लिएर अर्को रात कटाइरहँदा किएभ नजिकै शक्तिशाली विस्फोटनको आवाजहरू सुनिएका छन् । एउटा विस्फोटन भासीलकीभको एउटा तेल टर्मिनलमा गरिएको थियो जुन किएभबाट ३० किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ । उक्त नगरका मेयरले त्यहाँ आगलागी भइरहेको बताएकी छन्।

भिडियो फुटेजहरूमा आकाशमा आगो दन्किरहेको देखिन्छ । एक जना युक्रेनी संवाददाताका अनुसार स्थानीय मानिसहरूलाई खतरनाक रासायनिक धुवाँबाट जोगिन झ्यालहरू लगाउन भनिएको छ ।

शनिवार उक्त सहरले अघि बढिरहेका रुसी फौजको गोलाबारी र रकेट आक्रमणको प्रतिरोध गरेको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले हार नमान्ने बताएका छन् । हालसम्म युक्रेनतर्फ २०० जनाले ज्यान गुमाएको सरकारी आँकडा छ।

ताजा खबर