युक्रेन छाड्न अमेरिकाले गरेको प्रस्ताव जेलेन्स्कीद्वारा अस्वीकार

२०७८ फाल्गुण १४ शनिबार १४:१९:०० मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनले यहाँ लडाइँ भइरहेकाले आफूलाई हतियार चाहिएको बताएका छन् । द वाशिङ्टन पोस्टले पनि अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उदृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको जनाएको छ । रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको समाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।

विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता रहेका उनले निरन्तर लडिरहने प्रतिबद्धता जनाएका छन्। एउटा सम्बोधनमा उनले भनेका छन्, ‘जब तिमीहरूले हामीलाई आक्रमण गर्छौँ हामी त्यसको सामना गर्छौँ, भाग्दैनौं ।’ उनले आफैँले खिचेको एउटा भिडिओ पनि पोस्ट गरेका छन् जसमा उनी र उनका सहयोगीहरू किएभमा देखिन्छन् ।

ताजा खबर