विदेशी १० सैनिकसहित ७२ जनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिम पूरा

२०७८ फाल्गुण १३ शुक्रबार २२:०६:०० मा प्रकाशित

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा शिवपुरीस्थित नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको २८ समूहको कमाण्ड तथा स्टाफ तालिम दीक्षान्त समारोह सम्पन्न भएको छ ।

नेपाली सेनाका महिलासहित ५९, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ अधिकृत तथा विदेशी १० जनाले उक्त तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

तालिममा बङ्गलादेश, नाइजेरिया, पाकिस्तान, श्रीलङ्का, मलेसिया, माल्दिभ्स, लेवनान, भारत, केन्या (महिला) र बेलायतबाट १/१ प्रशिक्षार्थी सैनिक अधिकृत सहभागी थिए । तालिमको १७ श्रृङखला अर्थात सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागी गराइएको हालसम्म विभिन्न देशका ९९ जना दीक्षित भएको सेनाले जानकारी दिएको छ ।

तालिम शोधपत्रमा सेनानी प्रभात थापा प्रथम तथा समग्र तालिममा सह–सेनानी दिपचन्द्र केसी सर्वोत्कृष्ट शिक्षार्थी घोषित भए । समारोहमा सर्वोत्कृष्ट नतिजा हासिल गरेका केसीलाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार तथा दीक्षित प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरियो ।

प्रधानसेनापति शर्माले कलेजको वार्षिक प्रकाशन ‘दि शिवपुरी’ जर्नल को २३औँ संस्करणको विमोचन गरे । त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा धर्मकान्त बाँस्कोटा, कलेजका शिक्षाधिकृत उपरथी हिरालाल जोशीले अब्बल नतिजा ल्याउने शिक्षार्थीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान गरे ।

ताजा खबर