महिला क्रिकेटमा एपीएफको लगातार तेस्रो जित

२०७८ फाल्गुण १३ शुक्रबार १३:३६:०० मा प्रकाशित

काठमाडौं । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको हो । यसअघि एपीएफले पहिलो खेलमा प्रदेश नं १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो । लगातार तीन खेलमा पराजित भएको ललितपुर मेयर्स प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि ललितपुर पहिलो खेलमा सुदूरपश्चिमसँग ५८ रनले र दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग २ रनले पराजित भएको थियो । आजको खेलमा ८१ रनको विजय लक्ष्य एपीएफले १३ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । एपीएफका लागि ज्योति पाण्डेले अर्धशतकीय पारी खेलिन् । उनले ४५ बल खेल्दै अविजित ५६ रन बनाइन् ।

यस्तै रोमा थापाले अविजित ११ रनको योगदान दिइन् । बलिङतर्फ ललितपुर मेयर्सकी अनुराधा चौधरीले एक विकेट हात पारिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको ललितपुर मेयर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८० रनको योगफल बनायो । ललितपुर मेयर्सका लागि सुमन खतिवडाले सर्वाधिक ३० रन जोडिन् । आरती विडारीले अविजित २१ रन बनाइन् ।

बलिङतर्फ एपीएफका लागि करुणा भण्डारी र सुमन विष्टले एक–एक विकेट लिए । अहिले त्रिवि क्रिकेट मैदानमा प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशबीच अर्को खेल भइरहेको छ । प्रदेश १ ले टस जितेर ब्याटिङ गरिरहेको छ ।

ताजा खबर