ढोरपाटनमा सिकारयाम सुरु

२०७८ फाल्गुण १३ शुक्रबार ११:१९:०० मा प्रकाशित

बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि नौ नाउर र सात झारलको सिकार कोटा तोकेको छ । प्रतिस्पर्धाबाट सिकार गराउन विभागले बुधबार दरभाउपत्र आह्वान गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए । सिकार खेलाउन इच्छुक कम्पनीले १५ दिनभित्रमा विभागमा दरभाउपत्र बुझाउने छन् ।

बोलपत्रको प्रक्रियाबाट छानिएपछि मात्र कम्पनीले सिकारका लागि अनुज्ञापत्र पाउने प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ । गत सिकारयाममा नेपाल ट्राभल एक्पिडिशन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिजले सिकार खेलाएको थियो ।

यसपालि पनि यिनै कम्पनीबीच प्रतिस्पर्धा हुने ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीले बताए । बोलपत्रमा हुने प्रतिस्पर्धापछि बल्ल कम्पनीले पाउने सिकारको कोटा र दर थाहा हुन्छ । सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर घटबढ हुने गर्छ ।

कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहन्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन् । तीन वर्षअघि (फागुन–वैशाख)को याममा एउटा नाउर सिकारको १३ लाख ५१ हजार र झारल सिकारको १३ लाख ५० हजारसम्म राजस्व बुझाउन कम्पनी तयार भएका थिए ।

आरक्षमा वर्षेनी (असोज–मङ्सिर), (फागुन–वैशाख) गरी दुई याममा नाउर र झारलको सिकार खुला हुन्छ । विभागले दुवै याममा गरी वर्षमा जम्मा २० नाउर र ११ झारलको सिकार कोटा निर्धारण गर्ने गर्छ । गत सिकारयाममा १० नाउर र छ झारलको सिकार कोटा छुट्याइए पनि नौ नाउर तथा तीन झारलको मात्र सिकार गरिएको थियो ।

अनुमति पाएर पनि सिकारी नआएपछि सिकार कम भएको हो । यस याममा भने विदेशी सिकारी ढोरपाटन आउन आतुर रहेको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक पराजुलीले बताए । महामारीको जोखिम न्यून हुँदै जाँदा विदेशीहरू साहसिक र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन आउन उत्सुक देखिएका हुन् ।

कोभिड–१९ को प्रकोपले यात्रामा प्रतिबन्ध लाउँदा गएका केही याममा ढोरपाटनमा सिकार नै हुन सकेन । बोलपत्र टुङ्गिएपछि पेशेवर विदेशी सिकारी, कम्पनीका प्रतिनिधिसहितको टोली सिकार खेल्न स्थलमा आउने आरक्ष कार्यालयले जनाएको छ ।

हरेक वर्ष फागुन दोस्रो हप्तातिरबाट आरक्षमा यस यामको सिकार खेल्न सुरु हुन्छ । छनोटमा परेका कम्पनीले वैशाख अन्त्यसम्ममा सिकार खेलाउँछन् । “विभागले निर्धारित गरेको ब्लकमा पुगेर कम्पनीलाई तोकिएअनुसारको सङ्ख्यामा नाउर र झारलको सिकार खेलाउने गरिन्छ”, प्रबन्ध निर्देशक पराजुलीले भने ।

विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । सिकार खेलाएर आरक्षले वर्षेनी करोडौँ राजस्व राज्यको ढुकुटीमा योगदान गर्दै आएको छ । व्यवस्थित सिकारका लागि आरक्षभित्र सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात ‘ब्लग’ तोकिएको छ । सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त सिकारी ढोरपाटन आउँछन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।

सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्ने गरेको छ । एउटै सिकारीले रु ३० देखि ३५ लाखसम्म सिकारमा खर्चन्छन् । सिकारीहरू हेलिकोप्टरबाट आरक्ष पुग्छन् । एक हजार ३२५ वर्गकिमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी तथा हिमाली भू–भागमा पर्छ ।

ताजा खबर