सत्ता गठबन्धन धरापमाः गगन थापा

२०७८ फाल्गुण १२ बिहीबार १७:०२:०० मा प्रकाशित

काठमाडौैं । नेपाली कांग्रेस र नेकपा एमालेबीच आज साँझ फेरि छलफल हुने भएको छ । दिउँसो संसद भवन नयाँबानेश्वरमा दुई दलका शीर्ष नेताको बैठकमा पार्टीभित्र आन्तरिक छलफलपछि नेताहरु साँझ फेरि छलफलमा जुट्ने सहमति गरेका हुन् । बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले साँझ सात बजे छलफलमा बस्ने सहमति भएको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसी पारित गर्न सहयोग गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको भनाई उदृत गर्दै महामन्त्री थापाले भने,‘ एमसीसी सरकारको मात्रै विषय होइन । यो विषय तपाइँ प्रधानमन्त्री हुँदा प्रस्ताव गरेको विषय हो । त्यसैले अवरोध खोलौं र एकैठाउँमा उभिऔं भन्ने हो ।’

प्रधानमन्त्रीको प्रस्तावपछि अध्यक्ष ओलीले पार्टीमा छलफल गर्ने र साँझ फेरि छलफल गर्ने बताउनुभएको थापाले जानकारी दिए । महामन्त्री थापाले एमसीसीका कारण अहिलेको यो गठबन्धन धरापमा परेको बताए । सत्ता गठबन्धनभित्र एमसीसीमा मतभेद भएपछि सहमतिका लागि कांग्रेसले आजको संसद बैठक स्थगित गरेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल थालेको हो ।

ताजा खबर