रुसका पाँचवटा विमान खसालेको युक्रेनी सेनाको दाबी

२०७८ फाल्गुण १२ बिहीबार १३:३९:०० मा प्रकाशित

युक्रेनको सशस्त्र फौजले पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालिदिएको जनाएको छ । सशस्त्र फौजले युक्रेनी जनतालाई शान्त रहन र युक्रेनी रक्षकहरूमाथि विश्वास गर्न आग्रह गरेको छ । रुसी रक्षा मन्त्रालयले चाहिँ आफ्ना विमानहरू खसालिएको कुरा अस्वीकार गरेको छ । रुसले युक्रेनी सैन्य पूर्वाधारहरूलाई निशाना बनाइरहेको जनाएको छ ।

युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले ट्विट गर्दै भ्लादिमिर पुटिनले ‘युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको बताएका छन् । उनले युक्रेनले ‘आफ्नो रक्षा गर्ने बताउँदै अन्तर्राष्ट्रिय जगत्ले पुटिनलाई रोक्न सक्ने र रोक्नुपर्ने विषयमा जोड दिएका छन् । रुसले पूर्वी युक्रेनमा आफ्ना सेनाविरुद्ध ‘भीषण गोलाबारी गरेको युक्रेनको सैन्य बलले जनाएको छ ।

रुसले युक्रेनको राजधानी किएभनजिकै रहेको एक विमानस्थलसहित देशका अन्य विभिन्न विमानस्थलमा पनि क्षेप्यास्त्र आक्रमण गरेको बताइएको छ । युक्रेनको हवाई बलले रुसी हवाई हमलाको सामना गरिरहेको युक्रेनको सैन्य बलले जनाएको छ ।

ताजा खबर