एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्छः रामचन्द्र पौडेल

२०७८ फाल्गुण १२ बिहीबार १०:०२:०० मा प्रकाशित

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न सक्ने बताएका छन् । प्रेस युनियन तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको बताए ।

“सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ”, उनले भने । वरिष्ठ नेता पौडेलले एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गरे ।

“उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ”, उनले भने । एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए । “एमसीसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो”, उनले भने, “जनताका बीचमा भ्रम फैलाउने काम गरिएको छ ।”

ताजा खबर