रुसद्वारा युक्रेनमाथि आक्रमण गर्ने योजना अनुमोदन

२०७८ फाल्गुण १२ बिहीबार ०८:५४:०० मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना अनुमोदन गरेको बताएका छन् । वार्ताका लागि आफूले गरेको पहल बारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जवाफ नदिएको उनले बताए ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै २ लाख सैनिक र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताएका छन् । अबेर रात गरिएको टेलिभिजन सम्बोधनका क्रममा युक्रेनी राष्ट्रपतिले उनीहरूकै भाषामा रुसका जनतालाई समेत सम्बोधन गरेका थिए । उनले भने, ’‘हामीलाई सुन्नुहोस्। युक्रेनका मानिसहरू शान्ति चाहन्छन्। युक्रेनका निकायहरू शान्ति चाहन्छन्।’

लुह्यान्सक र डोनेट्स्कका रुस समर्थक पृथक्तावादीहरूले युक्रेनी सेनाको आक्रामक व्यवहारसँग जुझ्नका लागि सैन्य सहायता मागेको क्रेमलिनले जनाएको छ । यसबारे छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्को तत्काल बैठक बोलाउन युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले माग गरेको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको भोलिपल्ट युक्रेनले सङ्कटकालको घोषणा गरेको छ । युक्रेनले आफ्ना नागरिकहरूलाई रुस छाड्न आह्वान पनि गरेको छ। रुसी राष्ट्रपति पुटिनले भने टेलिभिजन सम्बोधनमा रुस र रुसी जनताको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।

 

ताजा खबर