निर्वाचनपछि सरकारमा आउछौंः अध्यक्ष ओली

२०७८ फाल्गुण ११ बुधबार १८:२५:०० मा प्रकाशित

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताएका छन् । आफ्नो ७१ औं जन्मदिनको अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेकाले फेरि निर्वाचनको माध्यामबाट सरकारमा आउने दाबी गरे ।

उनले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको बताए । अध्यक्ष ओलीले आफूहरुले केही जमिन छाड्दा सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजेको आरोप लगाए । उनले भने,‘ योद्धालाई एउटै सर्तमात्रै उसलाई हराउन सकिन्छ, उसलाई जमिनबाट छुटायो भने कि जमिनबाट माथि उठायो भने । तर जमिन छुन पायो कि ऊ बलियो हुन्छ । अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतबाट चार जना न्यायाधिशले नै पछार्दो रहेछ एमालेजस्तो पार्टीलाई । अलिकति मौका मिल्यो भने । तर आखिर उचालेको उचाल्यैं कहाँ हुन्छ ? हामी जमिनमा छोई हाल्छौं, टेकी हाल्छौं ।’

अध्यक्ष ओलीले आफ्नो बाँकी जिन्दगी सम्पूर्ण रुपमा देश र जनताको हितमा समर्पित गर्ने प्रतिवद्धता पनि जनाइ । त्यस अवसरमा उनले ७० वर्षको आफ्नो जीवनमा देश, जनता र पार्टीका नेता, कार्यकर्ताले ठूलो साथ दिएको भन्दै आभार व्यक्त गरे । कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त विचारहरुको संगालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।

 

ताजा खबर