वैदेशिक व्यापार ४६ प्रतिशत र व्यापार घाटा ३८ प्रतिशतले वृद्धि

२०७८ फाल्गुण ११ बुधबार १३:२९:०० मा प्रकाशित

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा आठ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ ।

वैदेशिक व्यापारमा वृद्धि भएतापनि मुलुकको आयातमुखी वैदेशिक व्यापारका कारण व्यापार घाटा चुलिँदो छ । भन्सार विभागले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको व्यापार घाटा ३८ दशमलव ४५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा सात खर्ब ३३ अर्ब रहेको व्यापार घाटा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १० खर्ब १५ अर्ब पुगेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा आयात ४२ दशमलव ७८ प्रतिशतले बढेको छ । गत आवको पहिलो सात महिनामा रु आठ खर्ब तीन अर्ब मूल्य बराबरको आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ४७ अर्ब पुगेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ८८ दशमलव ३० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्म ६९ अर्ब ९१ करोड बराबरको निर्यात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ३१ अर्ब बराबरकोे निर्यात भएको छ ।

गत आर्थिक वर्षको पहिलो सात महिनासम्म कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत रहेकामा चालु आवमा सोही अवधिमा दुई दशमलव ४९ प्रतिशतले घटेर ८९ दशमलव ७१ प्रतिशतमा आएको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २८ दशमलव ६० प्रतिशतले बढेको छ । गत आवको माघ मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा आठ प्रतिशत रहेकामा चालु आवको सोही अवधिमा १० दशमलव २९ प्रतिशत पुगेको छ ।

चालु आवको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयात अत्यधिक रहेको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ७२ अर्ब ९६ करोड बराबरको डिजेल भित्रिएको छ ।

त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रामा छ । चालु आवको पहिलो सात महिनामा ३९ अर्ब ६६ करोड मूल्य बराबरको करिब एक अर्ब दुई करोड लिटरभन्दा बढी भटमासको तेल आयात भएकोे देखिन्छ । त्यस्तै एलपी ग्यास ३४ अर्ब ६९ करोड तथा पेट्रोल ३३ अर्ब ५६ करोडको आयात भएको विभागले जनाएको छ ।

त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कानुसार ३६ अर्ब ६८ करोड मूल्य बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान उच्च देखिन्छ ।

सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेलजस्तै पाम तेल पनि कच्चा पदार्थ आयात गरी प्रशोद्धन गरेर निर्यात गर्ने गरेको छ । सार्वजनिक विवरणानुसार चालु आवको पहिलो सात महिनासम्म ३४ अर्ब १५ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ ।

त्यस्तै पाँच अर्ब सात करोड मूल्य बराबरका गलैंँचा तथा तीन अर्ब ४० करोड मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागले जनाएको छ । विभागका अनुसार चालु आवको पहिलो सात महिनामा नेपालले भारतबाट करिब ६ खर्ब ९६ अर्ब मूल्य बराबरका बस्तु आयात गरेको छ भने एक खर्ब छ अर्ब मूल्य बरोबरका बस्तु निर्यात गरेको तथ्याङ्क छ । नेपालको भारतसँगको व्यापार घाटा मात्रै पाँच खर्ब ८९ अर्बभन्दा बढी छ ।

त्यस्तै सोही अवधिमा नेपालले चीनबाट एक खर्ब ६५ अर्ब मूल्य बराबरका वस्तु आयात गरेकामा ४८ करोड ७९ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा धेरै वीरगन्ज भन्सार नाकाबाट चार खर्ब एक अर्बभन्दा बढी मूल्य बराबरको वस्तु आयात भएको छ ।

त्यस्तै भैरहवा नाकाबाट रु एक खर्ब ८४ अर्ब र त्रिभुवन विमानस्थल नाकाबाट एक खर्ब ४२ अर्ब भन्दा बढी मूल्य बराबरका वस्तु आयात भएको तथ्याङ्क छ । नेपालले वीरगन्ज भन्सारबाट ६० अर्ब चार करोड, विराटनगर भन्सारबाट ३७ अर्ब ५५ करोड तथा त्रिभुवन विमानस्थल नाकाबाट १८ अर्ब ७८ करोडभन्दा बढी मूल्य बराबरका वस्तु विदेश निर्यात गरेको छ ।

ताजा खबर