अमेरिकाले युक्रेनलाई थप हतियार दिने

२०७८ फाल्गुण ११ बुधबार ०९:३१:०० मा प्रकाशित

युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको बताउँदै प्रशंसा गरेका छन् । मङ्गलबार अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेट गरेका उनले अमेरिकी अधिकारीहरूले आफूहरूलाई थप हतियार उपलब्ध गराउने वाचा गरेको फक्स न्यूजलाई बताए । रुसको पछिल्लो कदमविरुद्ध अमेरिकाले विभिन्न प्रतिबन्धको घोषणा गरेको छ ।

रुसले क्राइमिया गाभ्दा अमेरिकाले लगाएको प्रतिबन्धभन्दा यो निकै धेरै रहेको अमेरिकी राष्ट्रपतिले बताएका छन् । अमेरिकाले ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी बैंकको व्यापारमा रोक लगाउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी समकक्षीसँग तय भएको बैठक आफूले रद्द गरेको बताएका छन् ।

तर तनाव व्यवस्थापनका लागि आफूहरूले अमेरिकी सेना नै युक्रेनमा परिचालित हुन् भन्ने नचाहेको युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले बताए । आफूहरूले युक्रेनलाई रक्षासम्बन्धी सहयोग दिन जारी राख्ने बाइडनले प्रतिबद्धता जनाएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसको पछिल्लो कदमविरुद्ध सशस्त्र बल परिचालन नगर्ने घोषणा गरेका छन् । तर जगेडामा रहेका सुरक्षा बल सदस्यहरूलाई तालिमका लागि भने बोलाउन लागिको उनले जानकारी दिए ।

रुस र युक्रेनबीच वार्ताको संयोजन गर्ने टर्कीको प्रस्तावलाई राष्ट्रपति जेलेन्स्कीले स्वागत गरेका छन् । उनले जर्मनी र टर्की सहित राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रहरूको सहभागिता रहने शिखर सम्मेलनको आह्वान गरेका छन् ।

उनले पश्चिमा राष्ट्रहरूले रुस माथि लगाएको प्रतिबन्धको स्वागत गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चाहिँ रुसबाहिर सैन्य बल प्रयोग गर्न सांसदहरूसँग अनुमति मागेको जानकारी आएको छ। त्यसबाट रुसलाई युक्रेनमा ठूलो आक्रमण गर्न बाटो खुल्न सक्ने बताइन्छ।

ताजा खबर