नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक बुधबारदेखि

२०७८ फाल्गुण १० मंगलबार २१:३४:०० मा प्रकाशित

काठमाडौं । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्षरुपमा हुन नसकेको बैठक यसपटक भौतिकरुपमा नै हुन लागेको हो । विसं २०७६ असोज २७ र २८ गते संयुक्त निर्देशक समितिको बैठकमा भारतको बैंगलोरमा भएको थियो । यसअघिका अनौपचारिक बैठक श्रव्यदृश्यका माध्यमबाट आयोजना गरिएको थियो ।

भोलिदेखि सुरुदेखि सुरु हुने यस बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहतका निकायका अधिकारी सहभागी हुनेछन् । यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । बुधबारको बैठकमा सहसचिवस्तरीय समितिले एजेण्डा तय गर्नेछ । बिहिबार भने सचिवस्तरीय बैठक हुनेछ ।

बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ । यसअघि प्राधिकरणले देवीघाट र त्रिशूली जलविद्युत् आयोजनाको कूल ३९ मेगावाट मात्रै निर्यात गर्ने अनुमति पाएको थियो ।

निर्यातको अवसर नपाउँदा प्राधिकरणले गत मनसुनमा झण्डै  पाँच अर्ब बराबरको बिजुली खेर गएको बताएको छ । यस्तै, बैठकमा नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुनेछ ।

आगामी मनसुनमा नेपालको बिजुली खेर जाने अवस्था आएकाले कुनै न कुनै कोणबाट सम्बोधन गर्ने गरी यस पटक प्रयास गरिएको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।

सो प्रसारण लाइन नेपाल र भारतबीच समान लगानीमा निर्माण हुने सम्झौता भइसकेको छ । कूल ४०० केभी क्षमताको सो प्रसारण लाइनको २० किलोमिटर खण्ड नेपाली भूभागमा पर्नेछ भने १२० किलोमिटर खण्ड भारतमा पर्नेछ । विसं २०७६ असोजमा भएको संयुक्त निर्देशक समितिको बैठकले सो प्रसारण लाइन निर्माणमा बारेमा सहमति जुटाएको थियो ।

यस्तै, कटैया कुशाहा १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट, रक्सोल–परवानीपुर प्रसारण लाइन, न्यू नौतनवा मैनिहा १३२ ककेभी प्रसारण लाइनको बारेमा समेत छलफल हुने बताइएको छ । बैठकमा भारतीय कम्पनीले सङ्खुवासभामा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना र त्यसको प्रसारण लाइन निर्माणको बारेमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

यस्तै, भारतले नेपालसँग मिलेर ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव राखेको छ । समान लगानीमा सरकारी स्वामित्वको कम्पनी खडा गरेर आयोजना निर्माणका लागि प्रस्ताव भारतको तर्फबाट पेश भएको र त्यसमा आवश्यक छलफल हुने बताइएको छ ।

त्यस्तै, भारतको प्रसारण प्रणाली प्रयोग गरेर बङ्गलादेश विद्युत् निर्यात गर्ने बारेमा समेत दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा छलफल हुने छ । विसं २०७६ मा भारतको बैंगलोरमा भएको बैठकमा पहिलो अन्तरदेशीय ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि, भारतीय ग्रीड प्रयोग गरी नेपाल र बंङ्गलादेशबीच विद्युत् आदान प्रदानलगायत नौवटा विषयमा छलफल भएको थियो ।

ताजा खबर