पाकिस्तानका व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत अधिकारीको आग्रह

२०७८ फाल्गुण १० मंगलबार २१:२५:०० मा प्रकाशित

काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका उद्यमी–व्यवसायीहरूलाई नेपालमा लगानी गर्न र व्यापारका अवसरहरू खोज्न आग्रह गरेका छन् । पाकिस्तानको सबैभन्दा पुरानो सुक्कर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूसँग मंगलबार भएको छलफलमा उनले यस्तो आग्रह गरेका हुन् ।

राजदूत अधिकारीले नेपाल–पाकिस्तान सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै त्यसलाई अझ सुदृढ तुल्याउन आफू प्रतिबद्ध रहेको बताएको इस्लामावादस्थित नेपाली दूतावासले जनाएको छ । दुई देशबीचको आर्थिक सहकार्यको सम्भावनाबारे प्रकाश पार्दै उनले सांस्कृतिक र हिमाली पर्यटनको केन्द्र नेपाल दक्षिण एसियामा उत्कृष्ट आतिथ्यता उद्योग भएको मुलुकका रूपमा परिचित रहेको जानकारी गराएका थिए ।

चेम्बरका अध्यक्ष आमिर अलीखान घौरी र सदस्यहरूले नेपाल भ्रमण गरी व्यापारका अवसरका बारेमा जानकारी लिने आश्वासन दिएका थिए । सुक्कर क्षेत्र कृषि उत्पादन, सुक्खा फल र मसला उद्योगका निम्ति प्रसिद्ध छ ।

ताजा खबर