विश्वकप खेल्ने नेपालको सपना अधुरै

२०७८ फाल्गुण १० मंगलबार १९:२७:०० मा प्रकाशित

काठमाडौं । नेपालको आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने सपना अपूरै रहेको छ । मङ्गलबार भएको आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएसँगै नेपालको सपना अपूरै रहेको हो ।

अल अमिरात क्रिकेट मैदानमा यूएईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ४ बलमा एक सय सात रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८ र ज्ञानेन्द्र मल्लले २० रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन बनाउन सकेनन् । आशिफ शेख र लोकेश बम शून्यमै आउट भए । बलिङतर्फ यूएईका अहमद राजाले पाँच विकेट लिए ।

\उनी चार ओभरमा १९ रन दिँदै पाँच विकेट लिन सफल भए । यस्तै जुनाइद सिद्दिकीले तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायो । यूएईका लागि मुहम्मद वसीमले ७० र विर्त्या अरविन्दले ४६ रन बनाए । बलिङतर्फ नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले तीन–तीन विकेट लिए ।

यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिए । आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदो अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउने थियो । । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेको थियो । त्यसयता खेलेको चार वटा टी–२० विश्व कप छनोटमा नेपाल असफल हुँदै आएको छ ।

ताजा खबर