सात महिनामा ११ खर्ब ४७ अर्बको बस्तु आयात, एक खर्बको निर्यात

२०७८ फाल्गुण १० मंगलबार १५:४६:०० मा प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागद्वारा मंगलबार सार्वजनिक तथ्याङ्कअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । सात महिनामा एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड १७ लाख बराबरको सामान निर्यात भएको थियो ।चालु आर्थिक वर्षको सात महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । सात महिनामा ४२ दशमलव ७८ प्रतिशतले आयातमा वृद्धि हुँदै ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाखभन्दा बढीको आयात भएको छ ।

तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा आठ खर्ब तीन अर्ब ६४ करोड ३१ लाख बढीको आयात भएको थियो । निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । सोही अबधिमा ११ खर्ब बढीको आयात हुँदा ३८ दशमलव ४५ प्रतिशतले व्यापार घाटा बढेको छ ।

चालु आवको सात महिनामा नेपालको १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको सात खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । यस्तैगरी चालु आर्थिक वर्षको सात महिनामै नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले बढेको छ ।

यस अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड चार लाख बराबरको पुगेको विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । सोही अवधिमा नेपालमा १४५ देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख बढीको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

सात महिनामा नेपालले भारतबाट छ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख बढीको आयात भएको छ भने एक खर्ब छ अर्ब ३५ करोड ८३ लाख बराबरको निर्यात भएको छ । नेपालको भारतसँग मात्रै पाँच खर्ब ८९ अर्ब ८८ करोड ६० लाख बढीको व्यापार घाटा ब्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ ।

चीनबाट सात महिनामा रु एक खर्ब ६५ अर्ब २३ करोड ७७ लाख बराबरको आयात भएको छ भने ४८ करोड ७९ लाख १५ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र एक खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख बराबरको व्यापार घाटा रहेको छ ।

ताजा खबर