खेलकुद परिषदलाई नयाँपन दिँदै मन्त्रालय

२०७८ फाल्गुण १० मंगलबार ०८:२५:०० मा प्रकाशित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्(राखेप)को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियानमा जुटेको छ । विगतको भूमिकामा नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर खेल क्षेत्रको विकासमा मन्त्रालयले सहजीकरणकासाथ पहलकदमी लिन थालेको हो ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले परम्परागत ढर्राबाट चल्दै आएको परिषद्लाई सकारात्मकभावसहित सक्रिय बनाई मुलुकको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन मन्त्रालयका तर्फबाट विभिन्न कार्यक्रममार्फत सम्पूर्ण साथ, सहयोगको अनुभूति दिलाइने बताए ।

मन्त्रालयले परिषद् र विभिन्न खेलकुद सङ्घले गर्ने क्रियाकलापमा सहजीकरण गर्दै हातेमालो गर्दै अघि बढ्ने कार्ययोजना बनाइरहेको छ । खेलकुद पूर्वाधार विकासका लागि विनियोजित करिब  ७७ करोड परिषद्बाटै खर्च हुनुपर्नेमा लामो समयदेखि सदस्यसचिवको नियुक्ति नभएका कारण रोकिएको छ । विनियोजित बजेट खर्च हुन नसक्नु भनेको समयमा पूर्वाधारका काम सम्पन्न नहुने मात्र नभई आयोजनाको लागत बढ्ने र अर्काे वर्षका लागि बजेटको सुनिश्चित गर्न चुनौती खडा हुन्छ ।

खेलकुल क्षेत्र र परिषद्लाई चलायमान बनाउन मुख्य मियोका रूपमा रहने सदस्यसचिवको रिक्ततालाई अब छिटो सम्बोधन गर्न मन्त्रालयबाट प्रयास भइरहेको छ । यसबीचमा मन्त्रालयले सहसचिव पठाएर सदस्यसचिव रिक्तता पूर्तिको अभ्यास र अनुभूति दिलाउन खोज्यो तर त्यो दिगो हुन सकेन ।

मन्त्रालयबाट खटाइएका कर्मचारीबाट कानुन परिपालना राम्रो भए पनि नेतृत्व र नतिजामुखी काम गर्न नसकेको मन्त्रालय स्वयंले महसुस गरेको थियो । सदस्यसचिवको नियुक्तिले परिषद्को कामकारबाहीप्रति जवाफदेहिता प्रदान गर्दै सफलता र असफलताको जस–अपजस स्वयं हुने भएकाले पनि नियुक्तिलाई मन्त्रालयले उच्च प्राथमिकता दिने जनाएको छ ।

नेपालको खेलकुद क्षेत्रको विकासमा खेलकुद परिषद्को अहं भूमिका रहिआएको छ । मुलुकका सबै खेलकुद विधा परिषद्मातहत रहेका खेलकुद सङ्घसंस्थाबाट हुन्छ । मुलुकमा विकसित राजनीतिक परिघटनाका कारण मन्त्रालय, परिषद् र सङ्घबीच बढेको दूरी घटाउन अहिले मन्त्रालयबाट भगिरथ प्रयास भइरहेको छ ।

सचिव रेग्मी भन्छन्, “परिषद्का विभागीय र कार्यकारी समितिका पदाधिकारीसँग खेलकुद क्षेत्रको विकास र विस्तारका लागि विभिन्न पाटो पक्षबाट कार्ययोजना बनाएर काम गर्न छलफल र अन्तक्र्रिया तीव्र तुल्याइएको छ ।”

गहन छलफल र अन्तक्र्रियाका आधारमा कार्ययोजना बनाई अघि बढेमा असल अभ्यास र अब्बल नतिजा ल्याउन सकिने जिकिर गर्दै उनले खेल सङ्घका पदाधिकारी, प्रशिक्षक र खेलाडीसँग पनि अब मन्त्रालयले निरन्तर छलफल र अन्तरक्रिया गर्ने बताए । कोभिड–१९ सङ्क्रमण जोखिम तथा सदस्यसचिवको रिक्ततालगायत विविध कारणले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने समय घर्किसकेको छ । उक्त प्रतियोगिता अघि बढाउने सन्दर्भमा आगामी स्थानीय तह निर्वाचन र एसइई परीक्षाले केही प्रभावित तुल्याउने भए पनि मन्त्रालय यसकै आसपासमा गर्ने सोचमा छ ।

राष्ट्रिय प्रतियोगिताका आधारमा आगामी सेप्टेम्बरमा हुने एशियन प्रतियोगिताका लागि जिल्ला र प्रदेशबाट खेलाडी छनोट भएर आउनुपर्ने छ । आगामी एशियन र राष्ट्रिय प्रतियोगितका लागि पनि परिषद् र विभिन्न खेलकुद विधाका सङ्घसंस्था सहभागिता र दायित्व बढेकाले मन्त्रालयले उनीहरूकोे भूमिकालाई प्रभावकारी तुल्याउन र आन्तरिक लोकतन्त्र प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको छ ।

ताजा खबर