ओलीको प्रश्नः एकथरीलाई सडकमा जाऊ भन्ने, अर्कोलाई सदनमा आऊ भन्ने ?

२०७८ फाल्गुण ९ सोमबार १७:१०:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि लाठी चार्ज गराएको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंको दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रहरीमाथि प्रदर्शनकारीहरुले ढुंगा प्रहार गर्दा, बाटो भत्काउँदा पनि केही नगर्न प्रहरीलाई किन आदेश दिएको भन्दै गृहमन्त्रीलाई प्रश्न गरे ।

उनले आफूले त्यस सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणसँग फोन संवाद गरेको उल्लेख गर्दै सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाएको बताए । अध्यक्ष ओलीले आन्दोलनको नाममा सडकमा इँटा हान्ने, तोडफोड गर्ने तर केही पनि नगर्नु भनेर सत्तारुढ दलहरुले नै आदेश दिएको भन्दै आक्रोश व्यक्त गरे ।

एमसीसी संसदमा टेवल गर्न समेत सत्तारुढ दलहरुले षडयन्त्र गरेको अध्यक्ष ओलीले आरोप लगाए । उनले भने,‘सत्ताधारी गुटले नै सडकमा ढुंगा हान्न मान्छे पठाएका छन् । सडक कत्रो दुःखका साथ खर्चका साथ बनाइएका छन् । ती सडक भत्काइएको छ । तपाईँहरुले देख्नु भएको होला–बाटो भत्काएको । सरकारमा हुने क्रान्तिकारीहरु । २५ जना मान्छेले ढुंगा हान्या छ । डेढसय पुलिस भागेको छ । अब लाठी चार्ज गर्ने अधिकार पनि छैन । हात भाँचियो, उता टाउको फुटिसक्यो, के गर्नु ? अनि भाग्नु परेन । अनि एकथरीले प्रहरी पठाउँछ सडकमा । केही पनि नगर्नू भनेर । यहाँ भत्काईराखेका छन, हजुर, भत्काउन देऊ । ढुंगो हानिराखेको छ, हान्न देऊ । मैले गृहमन्त्रीलाई सोधेँ–के आदेश थियो, काँचो ढुंगा मात्रै हान्न दिने आदेश थियो ? इँटामात्रै हान्न पाउने आदेश थियो ? के–के आदेश थियो ? उहाँहरु देशप्रति जिम्मेवारी भईराख्नु भएको छैन । सरकारमा बस्ने, तमासा गर्ने, एमसीसी पास गर्न षडयन्त्र गर्ने, टेवल गर्न षडयन्त्र गर्ने, आएर आफू चुप लागेर मूर्तिझैं बस्ने । अर्को पछाडिकोलाई नारा लगाऊ, नारा लगाऊ भन्ने । यताको उठ उठ भन्ने उताको बसबस भन्ने । एकथरीलाई सडकमा जाऊ भन्ने, अर्कोलाई सदनमा आऊ भन्ने । सरकारमा पनि आफै हुने, सदनमा पनि आफै हुने, सडकमा पनि आफै हुने ?’

ताजा खबर