एमसीसीको विरोधमा नयाँबानेश्वरमा प्रदर्शन

२०७८ फाल्गुण ८ आइतबार १२:३२:०० मा प्रकाशित

काठमाडौं । सरकारले प्रतिनिधिसभामा एमसीसी टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा विभिन्न समूहले संसद भवनबाहिर प्रदर्शन शुरू गरेका छन् । एमसीसीको विरोधमा केही दिनदेखि नयाँबानेश्वरस्थित संसद भवन आसपासको क्षेत्रमा प्रदर्शन हुँदै आएको छ ।

सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरेसँगै विभिन्न दल तथा तिनका भातृ संगठनले त्यसको विरोधमा प्रदर्शन सुरु गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भातृ संगठन पनि विरोध प्रदर्शनमा उत्रिएका छन् ।

यसअघिका प्रदर्शनमा प्रहरी प्रदर्शनकारीबीच झडप भएका थिए भने आज पनि बानेश्वर क्षेत्रको स्थिति तनावपूर्ण बनेको छ । उनीहरुले एमसीसी कुनै हालतमा संसदमा पेश नगर्न माग गर्दै आएका छन् । सत्ता गठबन्धनको आजको बैठकले भने एमसीसी संसदमा टेबल गर्ने सहमति गरेको छ । आज दिउँसो एक बजे बस्ने बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी छ ।

ताजा खबर