चीनले आफ्नो सैन्य विमानमा लेजर प्रकाश प्रयोग गरेको अस्ट्रेलियाको आरोप

२०७८ फाल्गुण ८ आइतबार १०:४८:०० मा प्रकाशित

अस्ट्रेलियाको रक्षा मन्त्रालयले चीनको नौसैनिक पानीजहाजले आफ्नो एउटा सैन्य विमानतर्फ सैन्य क्षमताको लेजर प्रकाश देखाएको आरोप लगाएको छ । चिनियाँ पानीजहाज उत्तर अस्ट्रेलिया नजिकै आराफुरा समुद्रमा अघि बढिरहेको बेला बिहीबार यो घटना भएको हो ।

अस्ट्रेलियाको रक्षा मन्त्रालयले यस्तो गतिविधिले मानव जीवनमाथि जोखिम निम्त्याउने सम्भावना रहेको र आफूहरुले व्यावसायिक र असुरक्षित सैनिक व्यवहारको निन्दा गर्ने बताएको छ । यस विषयमा चिनियाँ अधिकारीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

विभिन्न विवादहरूका कारण हालैका वर्षहरूमा दुई देशको सम्बन्धमा चिसोपन देखिएको छ । अस्ट्रेलियाका सञ्चारमाध्यमहरूले यसअघि पनि यस्तै खालका लेजर देखाइएका घटनाबारे समाचार प्रकाशित गरेका छन् ।

त्यस्ता गतिविधिका पछाडि साना चिनियाँ पानीजहाजहरूको भूमिका रहेको गुप्तचर अधिकारीले आरोप लगाउँदै आएका छन् । निशाना बनाइएको विमान बोइङ पी–एटए पुसाइडन रहेको थियो ।

समुद्री क्षेत्रको गस्ती गर्ने त्यस्ता विमानमा पनडुब्बीहरूलाई पहिचान गर्नसक्ने सेन्सर र हतियार प्रणाली समेत जोडिएको छ । मन्त्रालयका अनुसार उक्त पानीजहाज आराफुरा समुद्रमा पूर्वतर्फ अघि बढिरहेका दुई वटा चिनियाँ नौसैनिक जहाजमध्ये एक थियो ।

अस्ट्रेलिया र पपुवा न्यू गिनीबीचको टोरेस स्ट्रेट पार गरेपछि यो घटना भएको थियो । अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन हो र विगतमा दुवैले राम्रो सम्बन्ध कायम राखेका थिए। तर हालैका वर्षहरूमा कटुता देखिएको छ । अस्ट्रेलियाले आफ्नो आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप बेइजिङमाथि लगाएको छ।

ताजा खबर