एमसीसी विशुद्ध विकास निर्माण परियोजना हो : कोइराला

२०७८ फाल्गुण ७ शनिबार २०:११:०० मा प्रकाशित

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नम्बर ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा शनिबार आयोजित कार्यक्रममा उनले एमसीसी परियोजना नेपालको हितमा रहेको भन्ने कुरालाई जनतालाई बुझाउनुपर्नेमा जोड दिए ।

कोइरालाले नेपालको विकास निर्माण तथा गरिबी निवारण गरी लोकतन्त्रलाई बलियो बनाउनु परियोजनाको लक्ष्य रहेको उल्लेख गर्दै एमसीसी आउँदैमा मुलकमा विदेशी सेना आउने यसकोे कुनै पनि बुँदामा उल्लेख नभएको प्रष्ट पारे ।

उनले एमसीसी ६३ अर्बको परियोजनाले मुलुकको विद्युत ट्रान्समिसन लाइनको विस्तारसँगै सडक तथा पूर्वाधारको निर्माणलाई बढावा दिनु रहेको बताए ।

उनले अनुदान लिने नाममा जे कुरालाई पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको प्रष्ट पारे । नेपाली कांग्रेस वडा नं ९ का सभापति अनुजा कोइराला, महानगरपालिकाका सभापति दीपक चापागाईँ, क्षेत्र नम्बर ६ (ख) का सभापति मधुबाबु तिवारी, महाधिवेश प्रतिनिधि निरञ्जन रिजाल तथा समाजसेवी नारायणप्रसाद श्रेष्ठलगायतले प्रजातन्त्र प्राप्तिका लागि योगदान दिने सहिदहरूको सपनालाई पूरा गर्न नेता तथा कार्यकर्ता जनताको समृद्धिका लागि जुट्नुपर्ने बताए । नेता कोइरालाले मुटुरोग विशेषज्ञ डा राजीव श्रेष्ठलाई पार्टीमा स्वागत गरे ।

ताजा खबर