च्यासल रेलिगेसनमा

२०७८ फाल्गुण ७ शनिबार १८:२५:०० मा प्रकाशित

काठमाडौं । च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएसँगै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि च्यासल युथ क्लब एक खेल अगावै ‘बी’ डिभिजनमा घटुवा भएको हो । विसं २०७३ मा च्यासल ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।

फ्रेन्ड्सको जीतमा जमौल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । खेलको ३८औँ मिनेटमा जमौल एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४३औँ मिनेटमा जमौल एन्थोनीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए । च्यासलका अभिशेक लिम्बूले पेनाल्टी क्षेत्रभित्र एन्थोनीलाई लडाएपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि खेलको ५६औँ मिनेटमा च्यासलका मौसा अबगानाले एक गोल फर्काए । मौसाले पेनाल्टीबाट एक गोल फर्काए पनि च्यासल २–१ ले पराजित भयो । फ्रेन्ड्सका गोलकिपर राहुल यादवले पेनाल्टी क्षेत्रभित्र राजीव लोप्चनलाई फउल गर्दै लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । यो जीतसँगै फ्रेन्ड्सले १२ खेलमा १० अङ्क जोडेको छ । फ्रेन्ड्स लिगको १२औँ स्थान छ । च्यासल १२ खेलमा छ अङ्क जोडेर अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

ताजा खबर