यो गठबन्धनको आयु बढीमा एकवर्षः अध्यक्ष ओली

२०७८ फाल्गुण ७ शनिबार १५:४५:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थी सत्ता गठबन्धनको आयु धेरै नभएको बताएका छन् । शनिबार भक्तपुरको सूर्यविनायकमा सूर्यविनायक नगर अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एकवर्ष भएको बताएका हुन् ।

उनले भने,‘स्वार्थी गठबन्धन धेरै बाँच्न सक्दैन । बढीमा एकवर्ष हो यो सरकारको आयु । संसारभरका ज्योतिषीलाई राखेर सोध्यो भनेपनि त्यही भन्छ।’ अध्यक्ष ओलीले एमाले छाडेर गएकाहरुलाई एमालेमै फर्किन आह्वानसमेत गरेका छन् । ।

उनले भने,‘मान्छेको जात पनि कस्तो हुन्छ भनेनि एकोहोरिएपछि एकोहोरियो एकोहोरियो । पूर्वको मेलामा उरान्ठेउले केटाहरु सिन्दुर लुकाएर लैजान्थे । अनि राम्रीकेटी देखेपछि सिन्दुर हालेर भाग्थे । कसले हाल्यो हाल्यो ऊ भागिहाल्थ्यो । कसले फाल्यो फाल्यो सिन्दुर पत्तै नलाग्ने । एकदुई दिन त माइतीहरु रिसाउँथे तर माइती पक्षले खोजेर केटी जिम्मा लाउँथे । अहिले त कहिले माकुनेले, कहिले प्रचण्डले सिन्दुर हाल्दिएको छ । हामी माइतीहरु तपाइँहरुको स्वागतमा बसेका छौं । झुक्याएर हालेको सिन्दुर लक्स साबुनले धोएर पखालौं । एमालेमा आउनुस् । झुक्याएर हालेको सिन्दुरको काम छैन ।’

उनले अदालतमा गएर मुद्दा जितेर सरकार बनाएको विश्वमा कहीँ नसुनेको भन्दै अब निर्वाचनपछि जनअदालतबाट नयाँ सरकार बन्ने बताए । उनले अब जनअदालतले फैसला गर्ने भएकाले त्यसको तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले एमालेको सरकारले विकासको लहर ल्याउने भएकाले निर्वाचनपछि विकासको लहर ल्याउने बताए ।

उनले भने,‘ एमाले आयो अस्पिटल आयो, कलेज, विश्वविद्यालय आयो । विकासको माहौल आयो । सुरुङ निर्माण सुरु गरेका छौं । अस्ति ६ महिनाको सरकारको रिपोर्ट हेरेको त थानकोट नौबिसे सडकको जम्मा पाँच मिटर खनिएको रहेछ । एमालेको सरकार हुँदा २ सय ७५ मिटर खनेको थियो । यो सरकार आएपछि जम्मा ५ मिटर खनेर २८० मिटर पुर्याएछ यस्तो छ प्रगति । सय दिनको सरकारको काम के हो भन्दा ८८ दिनमा सरकार बनायो हेर्नुस् त हालत ।’

उनले सरकारले एमालेको झुकाव राख्ने कर्मचारीको सरुवा गरेर आतंक मच्चाएको आरोप लगाए । उनले भने,‘ सिडिओ तिर यसो हेर्यो भने मात्र सरकारले सरुवा गर्छ । डिएसपीले मुसुक्क हासेर सलाम गर्यो भने सरुवा गर्छ । के सलाम गर्दा रुनुपर्छ र ? नडराउनुस् । निष्पक्ष काम गर्नुस्।’ उनले एमाले प्रशासनको मद्दत लिएर निर्वाचनमा जित्ने नभई जनताको साथ लिएर जित्ने भएकाले प्रशासनलाई निष्पक्ष भएर काम गर्न आग्रह गरे । उनले भने,‘जनताको आशिर्वाद भन्दा माथिको केही छैन । जनताको आशिर्वादले पुगेको छ हामीलाई । हामी मतदाता किन्दैनौं।’

ताजा खबर