पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई

२०७८ फाल्गुण ७ शनिबार १२:५३:०० मा प्रकाशित

पोखरा । १६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गरेकी छन् ।

नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको कीर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो धावक हुन् । १५ औं संस्करणमा जापानीज धावकले उपाधि जितेका छन् । केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै चार लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे । पोखरा म्याराथनमा उनको किर्तिमान हो ।

यसअघि नेपाल आर्मीका धावक आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ०५ सेकेण्डमा पुरा गर्दै किर्तिमानी बनाएका थिए । जुन किर्तिमानलाई केन्याली धावकले तोडेका हुन् । खुल्ला म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याली धावकको नाममा लेखियो । सिमिओन किप्लागातोले २ घण्टा २१ मिनेट ०३ सेकेण्डमा पुरा गर्र्दै दुईलाख नगर राशीको पुरस्कार प्राप्त गरे ।

त्यस्तै नेपाली सेनाका धावक मोहनदेव जोशीले २ घण्टा ३३ मिनेटमा ४४ सेकेण्डमा पुरा गर्दै तेस्रोस्थानमा आउँदा शसस्त्र प्रहरी बलका धावक सन्तोषविक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै चौथो बने । पाँचौ स्थानमा भने सोलुखुम्बुका सुमन कुलुङले २ घण्टा ३९ मिनेट ४७ सेकेण्डमा पुरा गरेका थिए । महिला तर्फको हाफ म्याराथनको उपाधि प्रसाईले दोस्रो पटक उचाल्दा शसस्त्र प्रहरी बलकी ब्रिन्दा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहिन् ।

जुम्लाकी धाविका राममाया बुढाले १ घण्टा ३० मिनेट ४८ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा आउँदा बेलायतकी हेनाह करसले १ घण्टा ३२ मिनेट ५८ सेकेण्डमा पुरा गर्दै चौथो स्थानमा रहिन् । खुल्ला म्याराथन विजेताले नगद ४ लाख, दोस्रो हुनेले २ लाख, तेस्रो स्थानमा रहने धावकले १ लाख र चौथो स्थानमा रहेका धावकले भने सान्त्वना रुवरुप ३० हजार प्राप्त गरे ।

महिला तर्फ हाफ म्याराथन विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना स्वरुप १५ हजार नगद राशी प्राप्त गरे । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदकसहित नगद प्रदान गरेका थिए । नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरालाई खेलकुद शहरसँगै खेलकुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित डेढदशकदेखि म्याराथन आयोजना गर्दै आएको हो ।

ताजा खबर