पुटिनले युक्रेनमाथि हमला गर्ने निर्णय गरिसकेका बाइडनको दावी

२०७८ फाल्गुण ७ शनिबार ०९:५४:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र आगामी दिनमा हमला हुनसक्ने बताएका छन् । उनले अमेरिकी गुप्तचर निकायको सुझावमा आफ्नो विश्लेषण आएको बताएका छन् । उक्त निकायले राजधानी किएभलाई पनि निशाना बनाउन सक्ने उल्लेख गरेको छ ।

रुसले आफूले आक्रमणको योजना बनाइरहेको अस्वीकार गरेको छ । रुसले युक्रेनका टुक्रिएका पूर्वी क्षेत्रमा बनावटी सङ्कटहरू खडा गरेर त्यसलाई हमला गर्ने कारणका रूपमा प्रस्तुत गर्नसक्ने भय पश्चिमा राष्ट्रहरूको छ । अमेरिकाले १ लाख ६९ हजारदेखि १ लाख ९० हजार रुसी सैनिकहरू युक्रेन नजिकै भेला भइरहेको आँकलन गरेको छ । त्यसमा पूर्वी युक्रेनका स्वघोषित डोनिएत्स्क र लुहान्स्क गणतन्त्रहरूमा तैनाथ रुसी समर्थन प्राप्त लडाकुहरूको सङ्ख्या पनि जोडिएको छ ।

ह्वाइट हाउसबाट गरेको टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले रुसी फौजहरूले युक्रेनमा आगामी दिन वा हप्ताहरूमा आक्रमण गर्ने योजना बनाएको विश्वास गर्ने आधार रहेको बताएका थिए ।

उनले भने,‘अहिलेको क्षणसम्म आइपुग्दा म विश्वस्त छु कि उनले त्यस्तो निर्णय गरिसकेका छन्।’ यसअघि अमेरिकी राष्ट्रपति र उनका उच्च अधिकारीहरूले यस्तो अवस्था रहे या नरहेको आफूलाई जानकारी नभएको बताउँदै आएका थिए।

ताजा खबर