सबै राजनीतिक उपलब्धि २००७ सालको क्रान्तिको जगमा प्राप्त भएका हुन्ः प्रधानमन्त्री

२०७८ फाल्गुण ७ शनिबार ०८:४०:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । अब यी उपलब्धिलाई संस्थागत गरेर अघि बढ्न जरुरी रहेको उनले बताएका छन् ।

नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासनको अन्त्य भई जनताको हक अधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्न २००७ सालमा आजकै दिन प्रजातन्त्रको घोषणा भएको उनले स्मरण गरेका छन् ।

आजको दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हक अधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन गरेसँगै अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी रहेको भन्दै उनले त्यसका लागि हामी सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो औंल्याएका छन् ।

 

ताजा खबर