समृद्धिका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ : राष्ट्रपति

२०७८ फाल्गुण ७ शनिबार ०८:३१:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबैमा नयाँ उत्साह प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छन् । आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले यस्तो कामना गरेकी हुन् ।

प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्नेमा उनले जोड दिएकी छन् ।

लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताउँदै उनले लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन् ।

‘लोकतन्त्रलाई सार्थक बनाउन तदनुकूलको राजनीतिक व्यवस्था केवल साधन मात्र हो, साध्य होइन । राजनीतिक प्रणालीले तयार गरेको जगमा उभिएर राष्ट्रिय जीवनका हरेक पक्षले उच्च लोकतान्त्रिक आचरण, पारस्परिक विश्वास र सहयोगी भावना अभिवृद्धि गर्नु अत्यन्त आवश्यक छ, जनताको जागरुकताले मात्र लोकतन्त्र निरन्तर विकसित हुँदै जान्छ । र, अन्ततोगत्वा लोकतन्त्र हाम्रो जीवन पद्धति बन्न सक्दछ,’ सन्देशमा भनिएको छ । उनले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।


 

ताजा खबर