सेबोनका अध्यक्षलाई पुँजी बजार सुधार्ने गरी काम गर्न अर्थमन्त्रीको आग्रह

२०७८ फाल्गुण ६ शुक्रबार २१:५८:०० मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्ररूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई सुझाव दिएका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरेका हुन् । “पुँजीबजारको सुधारका लागि धेरै बाँकी काम रहेछन्”, मन्त्री शर्माले भने, “तपाईं यसमा कसैको प्रभावमा नपरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । तपाईंले स्वतन्त्ररूपमा काम गर्नुहुनेछ ।”

उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिकरूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले त्यसका लागि अध्यक्ष हमालप्रति सफलताको शुभकामना दिए ।

नवनियुक्त अध्यक्ष हमालले सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्णरूपमा प्रयोग गर्ने बताए । त्यसमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै निरन्तर सहयोग गर्न आग्रहसमेत गरे ।

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि सरकारले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो । हमाललाई योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

ताजा खबर