अहमदाबाद बम हमलाका ३८ जना दोषीलाई मृत्युदण्डको फैसला

२०७८ फाल्गुण ६ शुक्रबार १९:००:०० मा प्रकाशित

भारतको एउटा अदालतले पश्चिमी गुजरात राज्यमा गराइएको एउटा शृङ्खलाबद्ध बम विस्फोटका ३८ जना दोषीलाई मृत्युदण्डको सजाय सुनाएको छ । गुजरातको आर्थिक राजधानी अहमदाबादमा गराइएका विस्फोटमा ५५ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए । अदालतले अन्य ११ जनालाई आजीवन कारावासको सजाय पनि सुनाएको छ ।

उनीहरूले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पाउने छन् । सन् २००८ मा एक घण्टाको अवधिमा आवासीय क्षेत्र, बजार, सार्वजनिक यातायात र अस्पताल लगायतका क्षेत्रमा विस्फोट गराइएको थियो । प्रहरीका अनुसार विस्फोट नभएका थुप्रै बमहरू फेला पारिएको थियो । केही सञ्चारमाध्यमलाई पठाएको एउटा इमेलमा अज्ञात इस्लामवादी लडाकु समूह इन्डियन मुजाहिदीनले विस्फोटमा आफ्नो संलग्नता रहेको दाबी गरेको थियो ।

पुनेस्थित एउटा जर्मन बेकरीमा १७ जनाको ज्यान जानेगरी गराइएको विष्फोटपश्चात् सन् २०१० पछि भारत सरकारले उक्त समूहलाई आतङ्कवादी सङ्गठन घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो । अहमदाबाद बमकाण्डमा कुल ७८ जनामाथि मुद्दा चलाइएको थियो । आरोपितमध्ये एक अयाज सय्यदले अनुसन्धान निकायलाई पछि सहयोग गरेका थिए ।

बाँकी २८ जनालाई भने अदालतले सफाइ दिएको छ । द इन्डियन एक्सप्रेस पत्रिकाका अनुसार अदालतले १ हजार १६३ जना प्रत्यक्षदर्शीको बयान सुनेको थियो । विशेष न्यायाधीश एआर पटेलले पीडित प्रत्येक परिवारलाई एक लाख भारु क्षतिपूर्ति स्वरूप दिन आदेश पनि दिएका छन् । सन् २०१३ मा जेलबाट सुरुङ बनाएर भाग्न खोज्ने केही आरोपितको प्रयासलाई आफूहरूले विफल तुल्याइदिएको अधिकारीहरूले बताएका थिए।

ताजा खबर