सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपजः मन्त्री झाँक्री

२०७८ फाल्गुण ६ शुक्रबार १४:५३:०० मा प्रकाशित

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताइन् ।

उनले एमसीसी जस्ता विषयहरु नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताइन् । उनले सरकामा आफू मन्त्रिपरिषद्को सदस्य रहेको नाताले एमसीसीबारे प्रधानमन्त्रीको धारणा मन्त्रिपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि त्यही धारणा भएको बताइन् । उनले एमसीसी देशका लागि किचलो बनाउने विषयहरुबाट सरकार टाढा रहनु उचित हुने पनि बताइन् ।

उनले भनिन्, ‘लोकतान्त्रिक व्यवस्था रक्षाका लागि चाहेर वा नचाहेर बनेको गठबन्धन हो यो । अरु यस्ता एमसीसी लगायतका इस्यूहरु थिए, ती पहिलादेखिका सरकारले सिर्जना गरेको दायित्व हो । त्यसमा अन्तर्राष्ट्रिय कमिटमेण्टहरु छन् नेपालको तर्फबाट । प्रधानमन्त्री को भयो, अर्थमन्त्री को भयो, योजना आयोगको उपाध्यक्ष को भयो ? त्यसले धेरै कुराको निर्धारण गर्दैन । नेपालको कमिटमेण्ट हो । म प्रधानमन्त्रीको मन्त्रिपरिषद्को एउटा सदस्य भएकोले प्रधानमन्त्रीले राखेको धारणा भन्दा बाहिरको धारणा राख्न उपयुक्त हुँदैन ।’


 

ताजा खबर