बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

२०७८ फाल्गुण ६ शुक्रबार ११:०२:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभामा टेबुल गर्ने विषयमा सहमति जुटाउने अन्तिम प्रयासस्वरुप गठबन्धनको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु सहभागी छन् । गठबन्धन दलको बैठक अघि एमसीसीको विपक्षमा रहेका दलका नेताहरुले खुमलटार पुगेर माओवादी प्रचण्डसँग छलफल गरेका थिए।

माधव नेपाल, उपेन्द्र यादव लगायतका नेताहरु गठबन्धन बैठकका लागि साझा धारणा बनाउन खुमलटारमा बैठक बसेका थिए । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई संसदमा टेबुल गराउने सम्बन्धमा सहमति खोज्ने प्रयास गर्नेछन् ।

यसअघि पटकपटक भएका बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी संसदमा पेस गर्नुपर्नेमा जोड दिँदै आएका थिए भने प्रचण्ड र माधव नेपाल लगायतका नेताहरु भने संसदमा एमालेको अवरोध कायम भएका कारण तत्काल एमसीसी टेबुल गर्न नहुने अडानमा छन् ।

संसद खुलाउने विषयमा छलफल गर्न बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा ओली निवास बालकोट पुगेका थिए। प्रधानमन्त्री बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेपछि गठबन्धनका अन्य दलहरु केही सशंकित भएका छन् । प्रचण्डले यसअघि नै जबरजस्ती संसदमा एमसिसी टेबुल गर्न खोजिए सरकारबाट बाहिरिने चेतावनी दिइसकेका छन्। आजै दिउँसो एक बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

ताजा खबर