बाँकेमा ६ महिनामा ४४ कुष्ठरोगी फेला

२०७८ फाल्गुण ६ शुक्रबार १०:२८:०० मा प्रकाशित

बाँके । बाँकेमा चालु आर्थिक वर्षको ६ महिनामा मात्रै कुष्ठरोगी ४४ जना फेला परेका छन् । जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै नेपालगञ्ज र कोहलपुरमा कुष्ठरोगी छन् ।

नेपालगञ्जमा १३, कोहलपुरमा ११, जानकी गाउँपालिकामा छ, बैजनाथ र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, खजुरामा तीन र डुडुवामा एक कुष्ठरोगी फेला परेका छन् । राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला परेका छैनन् ।

गत आर्थिक वर्षमा बाँकेमा १२८ कुष्ठरोगी फेला परेका थिए । सरकारले १२ वर्षअघि नै नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि बाँके भने अहिले पनि कुष्ठरोगको उच्च जोखिममा देखिएको नेपालीले बताए । उनले कुष्ठरोगीको पहिचान र उपचार निःशुल्क हुने भएकाले उपचारको पहुँचमा आउन सबैलाई आग्रह गरे । कुष्ठरोग जोखिमका हिसाबले बाँके देशकै दोस्रो स्थानमा छ ।

लुम्बिनी प्रदेशको कपिलवस्तु जोखिमको हिसाबले पहिलो स्थानमा छ । प्रति १० हजारमा एकजनाभन्दा कम भए निवारण भएको मानिन्छ । बाँकेमा प्रति १० हजारमा एक दशमलव ५९ मा कुष्ठरोगको सङ्क्रमण देखिएको छ ।

बाँकेको जानकी–३ मानपुरमा रेफरल अस्पतालका रूपमा रहेको साइनिङ अस्पतालमा कुष्ठरोगको उपचार हुने गरेको छ । अस्पतालमा चालु आर्थिक वर्षको छ महिनामा ७४ नयाँ कुष्ठरोगी फेला परेको अस्पतालका प्रमुख मङ्गल थारूले जानकारी दिए ।

तीमध्ये बाँकेका ३०, बर्दियाका २२, दाङका पाँचसहित अरु सल्यान, प्यूठान र भारतीय बिरामी हुन् । भारतसँगको खुला सीमानाका, नयाँ कुष्ठरोगी फेला पर्दै जानु, उपचार सेवाको पहुँच हुनु, जनसङ्ख्या पनि धेरै हुनुलगायत कारणले कुष्ठरोगीको सङ्ख्या बाँकेमा बढी देखिएको हुनसक्ने थारूको भनाइ छ ।

कुष्ठरोगको जोखिम कायमै रहेकाले यसको पहिचान, उपचार र निदान नै निवारणको पहिलो उपाय भएको जनाउँदै उनले कुष्ठरोगको उपचार निःशुल्क हुने भएकाले त्यस्ता बिरामीलाई सम्पर्कमा आउन आग्रह पनि गरे । कुष्ठरोग कुनै पाप र धर्मका कारण नभएर यो मानिसको श्वासप्रश्वासबाट सर्ने भाइरस भएकाले समयमै यसको पहिचान गरेर समयमै उपचार गरे शरीर अङ्गभङ्ग हुनबाट जोगिने उनको भनाइ छ ।

ताजा खबर