रुसले युक्रेन हमलाका लागि बनावटी कारण खोजिरहेको अमेरिकी दाबी

२०७८ फाल्गुण ६ शुक्रबार ०८:५७:०० मा प्रकाशित

युक्रेनमा हमला गर्नका लागि रुसले बनावटी कारणको तयारी गरिरहेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनले उसको सैन्य कारबाही तत्कालै सुरु हुनसक्ने बताएका छन्। । तर उनले कूटनीतिक समाधान अझै सम्भव रहेकोमा जोड दिएका छन् ।

बिहीबार संयुक्त राष्ट्रसङ्घमा बोल्ने क्रममा अमेरिकी विदेशमन्त्रीले मस्कोले हमलाको औचित्य देखाउन प्रयोग गर्न सक्ने कयौँ कुराहरूको सूची प्रस्तुत गरेका थिए । न्यूयोर्कमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा एन्टोनी ब्लिङ्कनले रुसी हमला कस्तो खाले हुनसक्छ भन्ने स्पष्ट नभएको बताए ।

तर उनले सम्भावनाहरूलाई रुसभित्रै मञ्चन गरिएको कथित आतङ्कवादी बम हमला, विशाल चिहान पाइएको कुरा, उसका नागरिकमाथि नाटकीय रुपमै हुनसक्ने ड्रोन हमला वा नक्कली या साँच्चिकैको रासायनिक हमला हुनसक्ने बताए ।

उनले सम्भावित त्यस्ता घटनापछिको अवस्थामा रुस सरकारले युक्रेनमा रहेका रुसी जातीय समूहका मानिसहरूको सुरक्षा गर्न भनेर नाटकीय ढङ्गले आपत्कालीन बैठक बोलाउने बताए । र, त्यसपछि रुसी क्षेप्यास्त्र र बमहरू युक्रेनी निसानामा प्रहार हुन थाल्ने ब्लिङ्कनको भनाइ थियो ।

उनले साइबर हमलाको जोखिम समेत औँल्याए । मस्कोले ती कुराहरूलाई आधारहीन बताउँदै अमेरिकाले तनाव बढाएको आरोप लगाएको छ । उक्त बैठकमा रुसी सहायक विदेशमन्त्री सर्गेई भर्सिननले ब्लिङ्कनका विचार डरलाग्दा भएको बताए ।

ताजा खबर