प्रतिनिधिसभाको बैठक आज, एमसीसी टेबल होला त ?

२०७८ फाल्गुण ६ शुक्रबार ०८:१३:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक आज पुनः बस्ने भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएकाले पुनः छलफल गर्न आज बिहान १० बजे बस्ने गरी बैठक समाप्त भएको हो ।

हिजोको बैठकमा प्रतिनिधिसभाको बैठक बिना व्यवधान सञ्चालन गर्ने तथा एमसीसी सम्झौता टेबल गर्नेबारेमा घनीभूत छलफल भएको र त्यो सकारात्मक रहेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्व पङ्क्तिलाई अनुरोध गरेको मन्त्री कार्कीले जानकारी दिए ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा उक्त सम्झौता बुधबार टेबल गर्ने तयारी गरेको भएपनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो ।

बैठकमा एमसीसीलाई टेबल गर्न सत्ता साझेदार दलबीच सहमति जुटाउनुपर्नेमा अध्यक्ष दाहालले जोड  दिएका थिए । सत्ता गठबन्धनबीचको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने उनको अभिमत थियो ।  

यसैबीच प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ  । त्यसअघि बैठकको एजेण्डा तय गर्न सभामुख अग्नि सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

ताजा खबर