एमसीसीमा सहमतिको प्रयासका लागि सत्ता गठबन्धनको बैठक बस्दै

२०७८ फाल्गुण ५ बिहीबार ०८:५१:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दैछ ।अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)मा सहमति जुटाउन आज दिउँसो तीन बजे गठबन्धनको बैठक बोलाइएको हो ।

बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी रहेपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्नबाट पछि हटेका थिए ।

माओवादीले राष्ट्रिय सहमति विना एमसीसी संसदमा टेबल गरिए विपक्षमा मतदान गर्ने र सरकारबाट हट्ने निर्णय गरिसकेको छ । त्यस्तै सत्तारुढ नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पनि एमसीसीको विपक्षमा छन् ।

यसरी सत्तारुढ घटकभित्रै एमसीसीकाबारेमा मतभेद भएपछि सहमति जुटाउन गठबन्धनको बैठक बोलाइएको हो । आजको बैठकमा एमसीसी अनुमोदनका लागि सहमतिको खोजी गर्ने बताइएको छ ।

प्रतिनिधिसभाको बैठक शुक्रबारका लागि बोलाइको छ । कांग्रेस गठबन्धनमा सहमति नजुटेपछि शुक्रबारको बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् । यदि आजको बैठकमा सहमति नजुटे पनि कांग्रेसले संसदमा एमसीसी टेबल गर्ने बताइरहेको छ । यदि सत्तारुढ गठबन्धनमा यसबारे सहमति नभए सम्भवतः गठबन्धनमा फुट आउनेछ । 

ताजा खबर