महाअभियोग प्रस्तावको विपक्षमा उभिने राप्रपाको निर्णय

२०७८ फाल्गुण ३ मंगलबार १९:३५:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको विपक्षमा उभिएको छ ।

मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै प्रस्तावको पक्षमा उभिन नसक्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको खेलमा आफ्नो पार्टी सहभागी नहुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले न्यायालय राजनीतिक दलहरुकै दबाब, प्रभाव, हस्तक्षेप र भागबण्डाका कारण धरासायी भएको निष्कर्ष निकालेको छ । राप्रपाले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल, हाम्रो नेपाली अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय पनि गरेको छ ।

समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवल शमशेर राणा नेतृत्वको वार्ता समितिले अभियानसँग एकता गर्ने प्रस्ताव बैठकमा राखेको थियो । सोही प्रस्ताव अनुमोदन गरिएको पार्टीका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

ताजा खबर