एमालेद्वारा स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा माग

२०७८ फाल्गुण ३ मंगलबार १५:४५:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई बर्खास्त गर्न माग गरेको छ । नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गरी स्वास्थ्यमन्त्री खतिवडाले खोप ऐन र कोभिड निर्देशिकामा उल्लेख भएका प्रावधान विपरीत गम्भीर अपराध गरेको भन्दै बर्खास्त गर्न माग गरेका हुन् ।

आम जनता कोभिडबाट आक्रान्त भइरहेका बेला झुटो अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । एमालेले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले अनुदानबाट प्राप्त गरेका र खरिद गरेका खोपहरुमध्ये २४ लाख खोप हराएको तथ्य ढाकछोप गर्न सरकारका तर्फबाट प्रयासहरु भइरहेका भन्दै आपत्तिसमेत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘स्वास्थ्यमन्त्री विरोध खतिवडाले हालै ‘खोपहरु नहराएको’ दावी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयम्ले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपियाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख सुरक्षित छ । तत्कालीन सरकारले ०७७ फागुन १९ देखि २१ सम्म संघीय संसद्का सदस्यहरुलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले कोभिसिल्ड खोप लगाएको स्पष्ट छ ।’

एमालेले स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बद्नाम गर्नकै लागि आम जनसमुदायलाई गलत सूचना दिई कोभिडजस्तो संवेदनशील विषयमा अफवाह सिर्जना गरेको आरोप लगाएको छ ।

आमजनता कोभिड–१९ बाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको निन्दा गर्दै एमालेले यति झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न माग गरेको छ । २४ लाख खोप हराएको सन्दर्भमा सरकारले छानविन समिति गठन गरेको थियो । समितिको प्रतिवदेन बुझ्ने क्रममा स्वास्थ्यमन्त्री खतिवडाले खोप नहराएको बताएका थिए ।

ताजा खबर