एमसीसी विशुद्ध विकास परियोजना होः डा. महत

२०७८ फाल्गुण ३ मंगलबार १३:४३:०० मा प्रकाशित

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का पक्षमा आफ्ना धारणा राखेका छन् ।

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा मंगलबार बिहानदेखि सुरु भएको बैठकमा एमसीसी नेपालको पक्षमा रहेको र यसले आर्थिक विकासमा सहयोग पुग्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्नुपर्ने भनाइ सांसदहरुको रहेको पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा रामशरण महतले जानकारी दिए ।

बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका नेता महतले भने, “एमसीसीका विरुद्ध भ्रम फैलाइएको छ, यो कुनै सैन्य रणनीतिअन्तर्गत छैन, ती सबै अफवाह मात्र हुन्, मैले यही कुरा राखेँ र अरू साथीहरुले पनि यसै विषयमा धारणा राखिरहनुभएको छ ।” उनले एमसीसी परियोजनालाई राष्ट्रहित विपरीत भनेर दुष्प्रचार गरिएको भन्दै यसका विरुद्धको भ्रम चिर्न आवश्यक रहेको पनि बताए ।

उनले यो परियोजना राष्ट्रहितमा रहेकाले अनुमोदन गर्नुपर्ने पनि बताए । साथै उनले बैठकमा एमसीसीविरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गरेको पनि जानकारी दिए ।

महतले एमसीसी इन्डो प्यासेफिकअन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको बताए । उनले एमसिसीलाई अनुमोदन गर्न ढिलाइ गर्न नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि एमसीसी कार्यालयलाई पत्र लेखेर संसद्बाट अनुमोदन गर्न समय माग गरेकाले सोही अनुसार यही फागुन १६ गतेभित्र अनुमोदन गरिसक्नुपर्नेमा जोड दिए ।

ताजा खबर