एमसीसी नेपालको हितमा छ, पास गर्नुपर्छः प्रधानमन्त्री

२०७८ फाल्गुण ३ मंगलबार १२:०३:०० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको भन्दै त्यसलाई पास गर्नुपर्ने बताएका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले एमसीसी नेपालको हितमा रहेको र त्यसलाई पास गर्नुको विकल्प नरहेको बताएका हुन् । बैठकबाट बाहिरिने क्रममा कांग्रेस सांसद डा. शशांक कोइरालाले प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्छ भनेर बिफ्रिङ गरेको र बैठकमा सोही विषयमा छलफल भएको जानकारी दिएका छन् ।

कोइरालाले बैठकमा उपस्थित सबै सांसदहरुले एमसीसीलाई अगाडि बढाउनुपर्ने धारणा राखेका जानकारी दिए । बैठकमा नेता डा. रामशरण महतले एमसीसी देशको हितमा भएका कारण यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले हामीकहाँ विकासका लागि आउने अनुदानबारे भ्रम फैलाइएको भन्दै भ्रम चिर्नुपर्ने बताए ।

बैठकबाटै बाहिरिने क्रममा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने बताएका छ । एमसीसी संसदमा टेबुल गर्नका लागि प्रचण्ड र माधव नेपाल पनि सहमत भएका कारण बुधबार बस्ने संसद बैठकमा यसलाई टेबुल गरिने उनले बताए । उनले छलफल हुने वातावरण बन्ने नबन्ने भन्ने कुरा नेकपा एमालेको हातमा रहेको बताए । एमाले १४ सांसदमाथि गरिएको कारवाही सभामुखले नगरेको भन्दै संसदमा नाराबाजी गर्दै आएको छ । प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ ।

ताजा खबर