४८ घण्टाभित्र रुससँग छलफल गर्न किएभको आह्वान

२०७८ फाल्गुण २ सोमबार १०:१८:०० मा प्रकाशित

युक्रेनले रुस र एउटा मुख्य युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरूसँग ४८ घण्टाभित्र बैठक गर्न आह्वान गरेको छ । युक्रेनी विदेशमन्त्रीले आफ्नो देशसँगको सीमामा उच्च मात्रामा सैनिकहरू तैनाथ गर्नुको कारण बताउन गरिएका औपचारिक आग्रहलाई यसअघि मस्कोले अस्वीकार गरेको बताएका छन् ।

विदेशमन्त्री दिमेत्रो कुलेबाले बैठक आह्वान गर्ने कामलाई अर्को कदम भन्दै त्यसमा रुसी योजनाको पारदर्शिता खोजिएको बताए । युक्रेनले शुक्रवार भियना सम्झौतामा आधारित रहेर रुससँग उसको मनसायबारे जवाफ खोजेको बताइएको छ । उक्त सम्झौतालाई एउटा युरोपेली अन्तरसरकारी सुरक्षा सङ्गठन ओएससीईले स्वीकारेको छ जसमा रुस समेत सदस्य छ ।

युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक भेला पारे पनि मस्कोले हमलाको योजनालाई अस्वीकार गर्दै आएको छ । तर केही पश्चिमा देशले रुसले हमलाको तयारी गरिरहेको आरोप लगाएका छन् ।

अमेरिकाले मस्कोले जुनकुनै बेला हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने जनाएको छ । एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन्।

ताजा खबर