झापामा तोरीखेतीको आशलाग्दो विस्तार

२०७८ फाल्गुण १ आइतबार १२:०६:०० मा प्रकाशित

झापा । तेलहन बाली तोरीको उत्पादन झापा यसवर्ष बढ्ने भएको छ । तोरीखेतीको क्षेत्र विस्तार भएका कारण विगतमा भन्दा बढी उत्पादन हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

जिल्लाका १५ पालिकामै तोरीखेती विस्तार भएको केन्द्रले जानकारी दिएको छ । यसमा हल्दिबारी, कचनकवल, मेचीनगर, कनकाई, दमक र गौरादहका किसान तोरीखेतीप्रति बढी आकर्षित भएका छन् ।

हावापानीका दृष्टिले तोरी खेतीका लागि झापालाई उर्वरभूमि मानिन्छ । जिल्लामा चार वर्षअघिसम्म चार हजार हेक्टर क्षेत्रमा मात्र किसानले तोरीखेती गर्दै आएका थिए । तर पछिल्लो समय स्वस्थ र शुद्ध खानेतेलका लागि तोरीको प्रयोग बढेसँगै व्यावसायिकरूपमा तोरीखेती फस्टाएको हो । मेचीनगर–१४ का गोपाल तिसिम्नाले दुई वर्षदेखि आफ्नै चार बिघा जमिनमा व्यावसायिकरूपमा तोरीखेती गर्न थालेका छन् । त्यसअघि उनी पनि बजारबाट तेल किनेर भान्सामा प्रयोग गर्थे ।

अहिले आफैँले खेती गर्न थालेपछि शुद्ध तेल खान पाएको र मनग्य आम्दानीसमेत हुन थालेको उनले बताए । गत वर्ष तीन बिघामा तोरीखेती गरेका उनले यस वर्ष चार बिघा जमिनमा खेती विस्तार गरेका छन् । यसपालि १० क्विन्टल तोरी उत्पादन हुने उनको अनुमान छ । उनले उत्पादन गरेको तोरीप्रति क्विन्टल १२ हजार ५०० रुपैयाँका दरले बिक्री हुने गरेको बताए ।

कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा छ हजार हेक्टर क्षेत्रमा तोरीखेती हुँदै आएको बताए । उनले विगत चार वर्षदेखि जिल्लामा तोरीखेतीमा किसानको आकर्षण बढ्न थालेको बताए ।

“थोरै लगानीमा धेरै आम्दानी हुन्छ”, उनले भने, “तोरी छरेपछि फुल्नु अघि एकपटक साग छाट्नुपर्छ, अरु केही नै गर्नुपर्दैन । थोरै लगानी, कम परिश्रम हुँदा किसान तोरीखेतीप्रति आकर्षित हुन थालेका हुन् ।”

उनले बजारको समेत समस्या नभएको बताए । उनका अनुसार जिल्लामा पछिल्लो समय सहकारी संस्थाहरूले समेत तोरीखेती व्यावसायिकरूपमा गर्न थालेका छन् ।

उनीहरुलाई प्रोत्साहन गर्नका लागि कृषि ज्ञान केन्द्र झापाले तोरी ब्लक क्षेत्र नै घोषणा गरेको जनाएको छ । हल्दिबारी गाउँपालिकामा रहेको सहकारीलाई दुई वर्षसम्म २५ लाखको दरले अनुदानसमेत प्रदान गरेको केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा चार हजार हेक्टरमा हुँदै आएको तोरीखेती विस्तार भएर आर्थिक वर्ष २०७६/७७ मा पाँच हजार हेक्टर पुगेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा झन् बढेर पाँच हजार ३० हेक्टर र हाल छ हजार हेक्टरमा तोरीखेती भइरहेको कृषि अर्थविज्ञ भट्टराईको भनाइ छ । उहाँले तोरीमा झापालाई आत्मनिर्भर बनाउन सरकारले थप प्रोत्साहनका कार्यक्रम ल्याएर किसानलाई आकर्षित गर्न अझै आवश्यक रहेको बताए ।

 

ताजा खबर