एक दर्जन भन्दाबढी देशद्वारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह

२०७८ फाल्गुण १ आइतबार १०:१६:०० मा प्रकाशित

पश्चिमा राष्ट्रहरूले युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिएको अवस्थामा एक दर्जनभन्दा बढी देशले आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरेका छन् । त्यस्तो आग्रह गर्ने राष्ट्रमा अमेरिका, बेलायत र जर्मनीसहित अरू देश छन् ।

मस्कोले युक्रेनसँगको सीमा नजिकै एक लाख भन्दा बढी सेना तैनाथ गरेको छ । तर उसले आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ । पछिल्लो टेलिफोन संवादका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले उनका रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आक्रमणका कारण चुकाउनुपर्ने मूल्यबारे चेतावनी दिएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने आक्रमणको चेतावनीले त्रास बढाउन सक्ने बताउँदै आएका छन् । ह्वाइट हाउसले कुनै पनि समय युक्रेनमाथि आक्रमण सुरु हुनसक्ने चेतावनी दिएको छ ।

आक्रमण हवाई बम प्रहारबाट सुरु हुनसक्ने अमेरिकी भनाइ छ । बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलेभनले रुसी सेना अब ठूलो सैन्य कारबाही अघि बढाउन सक्षम रहने स्थितिमा रहेको बताएका छन् ।

आफ्नो प्रशासनलाई आक्रमणबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम निर्णय गरे/नगरेको जानकारी नरहेको तर क्रेमलिनले सैन्य कारबाहीको औचित्य सिद्ध हुने बहाना खोजिरहेको हुँदा तीव्र हवाई बम आक्रमणबाट थप कारबाही सुरु हुनसक्ने सलेभनले बताए । यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पनि युक्रेनमा रुसी आक्रमण जुनसुकै बेला सुरु हुनसक्ने बताएका थिए।

 

ताजा खबर