माओवादी घटकहरुलाई एकतावद्ध हुन प्रचण्डको आह्वान

२०७८ फाल्गुण १ आइतबार ०८:२०:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आह्वान गरेका छन् ।

२७ औं जनयुद्ध दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले जनयुद्धका उपलब्धी एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढ्न आह्वान गरेका हुन् । उनले परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि छ। नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ। जनयुद्धको जगमा सम्पन्न भएको ०६२÷६३ को संयुक्त जनआन्दोलन पश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको छ। संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत हुनै सक्दैन।’

देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न लागिपरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेता तथा कार्यकर्तालाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नुपर्ने बताएका छन् ।

ताजा खबर