अरुण नदीको बेलिब्रिज भाँचियो

२०७८ माघ २९ शनिबार २१:३८:०० मा प्रकाशित

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर ५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नम्बर–१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो ।

शनिबार दिउँसो निर्माण सामग्री बोकेको सामान तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिएका छन् ।

निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको तीन वटा लोवेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेका कार्यपालिका सदस्य याम्फुले बताए । ट्रकमा सवार चालक र सहचालक भने सकुल रहेका छन् ।

अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ । पुलको क्षमता भन्दा बढी सामग्री बोकेर एकै पटक तीन वटा ट्रक तर्ने क्रममा पुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताए ।

तीन वटै लोवेट ट्रक हाइड्रो पावरको निर्माण सामग्री लिएर वालुङतर्फ गएका थिए । दुई वटा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरू आयोजना स्थल गएका थिए ।

पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीन वटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेका उनको भनाइ छ । चालक र सहचालकलाई भने स्थानीय उद्धार गरेका छन् । २०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको थियो ।

ताजा खबर