एमसीसी अघि नबढाउन प्रधानमन्त्रीलाई प्रचण्ड र नेपालको आग्रह

२०७८ माघ २९ शनिबार १५:५६:०० मा प्रकाशित

काठमाडौं । एमसीसी सम्झौताबारे संसदमा अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्ताव सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताले अस्वीकार गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौतामा छलफलमा लैजान प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेका हुन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार तीन नेताको छलफलमा प्रधानमन्त्रीले एमसीसी संसदमा प्रस्तुत गर्न आग्रह गरेका थिए । तर दुई नेताले भने एमसीसी अघि बढाउन अहिले हतार नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रचण्ड र नेपालले गठबन्धनबीच समान धारणा नबनेको र प्रतिपक्षीले पनि धारणा स्पष्ट नगरेको अवस्थामा यसलाई संसदमा लगेर मात्रै अर्थ नहुने बताएका मल्लले जानकारी दिए ।

सत्तारुढ माओवादी र एकीकृत समाजवादीले एमसीसी अघि बढाउने प्रधानमन्त्रीको प्रस्तावमा असहमति जनाउँदै आएका छन् । प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई एमालेसँग छलफल गरेर राष्ट्रिय सहमति बनाउन सुझाव दिएको मल्लले जानकारी दिए ।

प्रचण्ड पुत्री एवं प्रमुख स्वकीय सचिव गंगा दाहालले भने फागुन दुई गतेको बैठक चार गतेलाई सार्न दुई नेताले प्रधानमन्त्रीलाई सुझाव दिएको जाकारी दिएकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन्, ‘प्रधानमन्त्री निवास वालुवाटारमा तीन शीर्ष नेताबीच भएको भेटबार्ताका क्रममा दुई गते हुने भनिएको संसद अधिवेशन प्रमुख प्रतिपक्षी दल एमाले दुई गते उपस्थित हुन नसक्ने र संसद सार्न गरेको अनुरोधको कारण अध्यक्षद्वयले फागुन ४ गते राख्न सुझाव दिनु भएको छ ।’

 

ताजा खबर